(निबन्ध)
‘साथी’ निबन्ध सङ्ग्रहबाट
साथी
सरण राई
साथी नहुने मान्छे संसारमा कोही हुँदैन । साथी जसको छैन, ऊ एक्लो हुन्छ, दुःखी हुन्छ । मान्छेले साथीहरूको माझमा दुःख पनि बिर्सिन्छ । विभिन्न स्थिति, परिस्थिति, समय र कार्यको दौरानमा साथीहरू बन्छन् । साथीहरू कोही अस्थायी हुन्छन् भने कोही स्थायी । साथीहरू जीवन यात्रामा बन्छन्, छुट्छन् । साथीहरू नभएको संसार बिरलै र रुखो हुन्छ । साथीसँग दुःख बाँढ्दा आधा हुन्छ भने आनन्द दोब्बर हुन्छ । साथी अमूल्य र महत्वपूर्ण हुन्छ । तर साथी शत्रु बन्यो भने त्योभन्दा डरलाग्दो कोही हुँदैन । साथी भित्रभित्रै जरो काट्ने भयो भने त नेपोलियनले जस्तै भन्नुपर्ने हुन्छ— ‘भगवान, मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूसँग म आफै बच्न सक्छु ।’
‘साथीहरू कस्ता छन् ?’ त्यसै कुरामा मान्छेको सफलता निर्भर रहन्छ । मानिस जन्मजात स्वार्थी हुन्छ तर मान्छे दयालु पनि हुन्छ । थाहै नपाई जोर लात्ती हान्ने साथीहरू पनि हुन्छन् साथै साथीको लागि ज्यान दिने साथीहरू पनि हुन्छन् । साथीहरू थरीथरीका हुनसक्छन् ।
साथी कार्यक्षेत्र, उमेर र ध्येयअनुसारको हुन्छ । राजनीतिक, सामाजिक, आर्थिक वा अन्य क्षेत्रका साथीहरूको विशेषता पनि बेग्लाबेग्लै हुन्छ । जीवनमा धेरै साथीहरू चाहिन्छ । राजनैतिक क्षेत्रमा धेरै साथीहरू हुनेले राजनैतिक खेल जित्ने सम्भावना हुन्छ । जसले जति धेरै राजनैतिक साथीहरू बनाउन सक्यो त्यति वेश । राजनैतिक साथीहरू राजनैतिक मूल्य, मान्यता, सिद्धान्त र आस्थाको आधारमा बन्छन् भनिए तापनि राजनीति माकुरे संस्कृितमा हुर्केको हुन्छ । राजनीतिमा धेरै विश्वासघाती साथी पाइन्छ । आफैले जन्माएको बच्चाहरूले नै माउलाई खाइ मार्ने गँगटो र माकुराको चलनलाई ‘माकुरे संस्कृति’ भनिएको हो । राजनैतिक साथीहरू आफैले जन्माउने, बढाउने र हुर्काउने अनि मौका पाउनासाथ माकुरे संस्कृतिको शिकार तिनै साथीहरूले बनाउन सक्ने भएकाले सधैं सतर्क भइरहनुपर्ने हुन्छ । ‘पालेको चरीले आँखा ठुङ्छ’ भनेझैँ राजनीतिमा त विश्वास गरेको साथीले आँखा मात्र होइन ज्यानै समेत लिएका उदाहरणहरू प्रसस्तै पाइन्छन् । साथीको कुर्सी खोस्नु, भाँच्नु त सामान्य जस्तो देखिन्छ । राजनीतिमा धेरै स्वार्थी साथी पाइन्छन् । । सामाजिक, आर्थिक र साहित्यिक क्षेत्रमा पनि स्वार्थको चास्नीमा डुबेकाहरू गुलियोको लागि साथीभै टोपल्नेहरू थुप्रै पाइन्छन् । तापनि राजनीतिमा जति धेरै फोहोरी साथीहरू पाइन्छ, अन्य क्षेत्रमा कम मात्रामा पाइन्छन् ।
साहित्यिक क्षेत्रमा साथीलाई चिया, कफी वा रक्सीमा भुल्याएर मात्र कविता सुनाउन सकिन्छ । झुक्काएर कविता सुनाईहालियो भने पनि साथीको चेहरा अमिलो खाँदा चाउरिएझैँ प्रष्ट देख्न सकिन्छ । साहित्यिक क्षेत्रमा त्यति धेरै साथी पनि चाहिदैन तर आर्थिक क्षेत्रमा चाहीँ किसिम किसिमका साथीहरू चाहिन्छन् । लाटो, लठेब्रो, गठेरो, कोक्ल्याटो, गरिब, हरिप, धनी, मानी, लुते, लङ्गडो, अन्धो, बलवान, पहलमानदेखि लिएर पाखण्डी, लबस्तरा, इमानी, जमानी सबै किसिमका साथीहरू व्यापार–व्यवसायमा काम लाग्छन् । व्यापारमा साथी लेनदेनकै साथी हुन्छ र त्यस्तै भेटिन्छ । चोट्टा र भुइँफुट्टा साथीहरूबाट धोका पाइन्छ कि भन्ने डर व्यापारिक क्षेत्रमा सधैं भइरहन्छ । उमेर अनुसारको साथीको कुरा गर्दा सानाको ‘बाल शखा’ बिर्सिन नसकिने हुन्छ । बाल शखाको मनभित्र माया, प्रेम लुकेर बसेको हुन्छ । बिद्यार्थीछँदाका साथीहरू पनि उत्तम हुन्छन् । ती साथीहरू निश्चित प्रयोजनका लागि बनाइएका हुँदैनन् ।
व्यवसाय, व्यवहारमा फसिसकेपछि बन्ने साथीहरू धेरैजसो निश्चित प्रयोजन र ध्येय पूरा गर्नका लागि बनिएका हुन्छन् । त्यो प्रयोजन,ध्येय समाप्त भएपछि ती साथीहरूको उपादेयता पनि समाप्त हुन्छ । पाको उमेरमा पक्का साथी पाउनु त बालुवामा सुनका कणहरू पाउनु जत्तिकै दुर्लभ हुन्छ । उमेरअनुसार विविध रूपका साथीहरू पाइन्छन् । जन्मदेखि मृत्युसम्म साथीहरू चाहिन्छन्, पाइन्छन् । कुन खालको र कति जना साथी पाइन्छन् भन्ने चाहीँ आफ्नो भाग्यमाथि निर्भर हुन्छ । ‘भाग्यमानीको भुत कमारा’ भनेझैँ भाग्यमानीका धेरै असल साथीहरू हुन्छन् ।
‘सङ्गत गुनाको फल’, ‘ठूलाको सङ्गत गरे गुवा पान, छोटाको सङ्गत गरे नाक कान’, ‘गाँस छोड्नु, साथ नछाड्नु’, ‘आफ्नो थैली बलियो बाँध्नु, साथीलाई चोर नलगाउनु’ आदि अनेकौँ उखानहरूले साथीहरूबारे विविध धारणाहरू व्यक्त गर्दछ । ‘आफू भलो त जगतै भलो’ भनेझैँ आफूजस्तो छ त्यस्तै साथीहरू पाइन्छन् । आफू असल भएमा असल साथी पाइन्छ । साथीहरूको डङ्गुरमा असल साथी छान्न सक्नु महत्वपूर्ण कला हो । धोका पाएर साथीलाई दोष दिनुभन्दा असल साथी छान्न नसकेकोमा आफैलाई दोष दिनु बेस हुन्छ । साथीहरू सबै एकै खालका हुँदैनन् । सुखमा मात्र साथ दिने शुभलाभ मित्र (फेयर वेडर फ्रेण्ड्स) धेरै हुन्छन् । तापनि साथीलाई सङ्कुचित परिभाषामा बाँध्नु हुँदैन । आपद्, विपद् सुखदुःख जुनसुकै समयमा पनि साथ दिने साथी हो । त्यस्तो साथी पाउनु भनेको असली हीरा पाउनु सरह हो ।
आफूले भनेजस्तो भएन भने साथी त्यागी हाल्नु पर्छ भन्ने सोच्नु हुँदैन । ‘दोषरहित मित्र’को खोजीमा रहँदा मित्रविहीन एक्लो भइने अवस्था बन्न सक्छ । संसारमा सबै असली हुँँदैनन् । असली हीरा थोरै छ, सबैलाई असली हीरा उपलब्ध हुँदैन । नक्कली हीराहरूले पनि उपभोक्ताहरूलाई सन्तुष्टि दिएकै छ । नक्कली साथीहरूले पनि असली साथीको प्यास मेटाउन सक्छन् । साथीहरू जस्तोसुकै होऊन् बुद्धि र जुक्तिले उपयोग गर्ने हो भने मित्रताबाट नोक्सान हुन सक्दैन । सबै खाले साथी काम लाग्छ । आफ्नो अघिपछि वरिपरि चारैतिर सबै खाले साथीहरू बटुलेर बाँच्न जान्ने मान्छे सफल हुन्छ । साथीहरूको माझमा मान्छे सुखी हुन्छ । साथीलाई घृणा नगर्ने र साथीहरूबाट घृणित नहुने मान्छे जसले साथीहरूबाट निरन्तर मित्रता पाइरहन्छ त्यो मान्छे सफल र सुखी हुन्छ । साथीको आँखाबाट जुन व्यक्ति गि¥यो, त्यो विचरा हो । मित्रतामा मित्रता बाहेक अन्य दुषित विषाक्त भाव र व्यवहार आउन दिनु हुँदैन । ‘अर्ति सबैको मान्नु’ भनेझैँ जसले यो उपदेश मान्दछ, ऊ मित्रविहीन भएर एक्लो रहनुपर्दैन ।
‘साथी’बारे स्पष्ट निक्र्यौल निकाल्न सकिँदैन । जीवन, जगत र व्यवहारमा गणितमा जस्तो कुनै सवालको ट्वाक्कै उत्तर आउन सक्दैन । दहमा नपसी, नडुबी, नभिजी पौडी सिक्न नसकेझैँ आफैले मित्रताबारे अनुभव गर्ने, थाहा पाउने र उपादेयताबारे मनन गर्नेभन्दा अर्को तरिकाबाट ‘साथी’बारे स्पष्ट पार्न सकिदैन । तापनि यति चाहीँ भन्न सकिन्छ जसको जीवनमा साथीहरू प्रचुर मात्रामा उपलब्ध छैनन्, उसको जीवन उजाड, निरस, शुष्क, खडेरी जस्तो निर्मम हुनछ । तसर्थ जीवनमा थुप्रै साथीहरू बनाउनुहोस् । आफू चाहीँ पक्का साथी बनेर मित्रताको कसीमा खरो उत्रनुहोस् । मित्रताको नाममा कोही कलङ्क बन्छ भने त्यो उसैको दोष हुन्छ ।
‘समष्टि’ २०६२, मंसिर–पुस (वर्ष २६, अङ्क ३)मा पहिलोपल्ट प्रकाशित

No comments:
Post a Comment